विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ। कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो।
“कम्पनीले धानको समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार पँच सय ८० दशमलव ६२ तोकेको छ”, उनले भने, “कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन्।”
तीन लाख ८५ हजार मेट्रिक टन धान उत्पादन
झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ।धान लगाइएको क्षेत्रफल घटे पनि उत्पादनमा भने सामान्य वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। यस वर्ष ७५ हजार चार सय ५९ हेक्टरमा धानखेती भएकामा उत्पादकत्व पाँच दशमलव १० मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो।“गत वर्षभन्दा यो वर्ष आठ हजार सात सय ९१ मेट्रिक टन धान उत्पादन बढेको छ”, उनले भने।


