नेपाल र चीनका बीचमा ‘ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ र ‘फ्रेमवर्क फर बेल्ट एण्ड रोड कोअपरेसन’ जतिसक्दो छिटो समझदारी गर्न तयार भएका छन्।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उच्चअधिकारीहरूबीच मंगलबार औपचारिक भेटवार्ता सकिएपछि जारी भएको संयुक्त वक्तव्यमा यी दुवै दस्ताबेजमा जतिसक्दो छिटो समझदारी (एमओयु) गर्ने उल्लेख छ।
‘दुवै पक्षले ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क र ‘फ्रेमवर्क फर बेल्ट एण्ड रोड कोअपरेसन’ को एमओयूमा जतिसक्दो छिटो हस्ताक्षर गर्न तयार रहेको बताए,’ विज्ञप्तिमा उल्लेख छ, ‘दुवै पक्षले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रुपान्तरण गर्न बन्दरगाह, सडक, रेलमार्ग, उड्डयन, पावर ग्रिड र दूरसञ्चार जस्ता सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।’



