आइपिओ फाइल अघि बढाउन धितोपत्र बोर्ड अध्यक्षले दिए निर्देशन,आउने साताबाट क्रमिक रुपमा अनुमति दिने तयारी


  • Himalayan Bank Limited (HBL)
आइपिओ फाइल अघि बढाउन धितोपत्र बोर्ड अध्यक्षले दिए निर्देशन,आउने साताबाट क्रमिक रुपमा अनुमति दिने तयारी

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आइपिओका फाइल अघि बढाउन निर्देशन दिएका छन्।

आइतबार बोर्डका कर्मचारीहरूसँग ब्रिफिङ लिँदै रोकिएका फाइल अघि बढाउन निर्देशन दिएको बोर्डका एक कर्मचारीले जानकारी दिए।“अध्यक्ष ज्युले आइतवार कर्मचारीहरूसित बोर्डको काम कारबाहीको बारेमा ब्रिफिङ लिनु भएको थियो। सोही क्रममा अध्यक्ष ज्युले रोकिएका फाइल अघि बढाउन निर्देशन दिनु भएको हो ” उनले भने। 

धितोपत्र बोर्ड अध्यक्षले आइपिओका फाइल अघि बढाउन निर्देशन दिएसँगै लामो समयदेखि थन्किएका फाइल खोल्न थालिएको छ। जसमा सबै कम्पनीको फाइल एकै पटक अघि बढ्ने स्थिति भने छैन। धेरै कम्पनीले निवेदन मात्रै दिएको अवस्था छ भने केही कम्पनीले बुझाएका कागज पत्र पुराना भएका छन्। धेरै जसो कम्पनीले बुझाउने वित्तीय विवरण पुराना भएका छन् भने केहीको प्रत्याभूति सम्झौता सकिएका छन्। अर्कोतर्फ केही कम्पनीको रेटिङको म्याद समेत सकिन पुगेका छन्। जसले गर्दा ती कम्पनीहरूले  नयाँ सिराबाट सुरु गर्नु पर्ने हुन्छ। त्यसले गर्दा सबै कम्पनीको एकै पटक प्राथमिक निष्कासन स्वीकृति हुने अवस्था छैन। तर जुन कम्पनीहरूले आफ्ना सबै कागज पत्र बुझाएको अवस्था छ। उनीहरूलाई भने बोर्डले आउने साताबाट क्रमिक रुपमा स्वीकृति दिँदै जाने छ।

यता एकैपटक सबै कम्पनीको निष्कासन स्वीकृति हुने अवस्था छैन भने अर्कोतर्फ धेरै कम्पनीको प्राथमिक निष्कासन स्वीकृत गर्दा दोस्रो बजारमा समेत प्रेसर पर्न सक्ने भएकोले पनि बोर्ड त्यस विषयमा सजग देखिएको छ। बोर्डका एकथरी कर्मचारीले भने अहिले दोस्रो बजारमा पैसा पर्याप्त रहेकोले तरलतामा कुनै समस्या नहुने तर्क गरिरहेका छन्। जसले गर्दा जे जति स्वीकृत गर्नु पर्ने हो यही बेला स्वीकृत गर्दा कम्पनीहरूलाई पूँजी सङ्कलनमा सहयोग हुने उनीहरूको जिकिर छ।

पाइप लाइनमा धेरै जसो जलविद्युत कम्पनीहरू छन्। उनीहरूले पनि आफ्नो काम अघि बढाइदिन भन्दै दौडधुप सुरु गरेका छन्। बोर्ड अध्यक्षले कार्यभार सम्हालेदेखि नै बधाइ दिने निहुँमा धेरै कम्पनीका प्रतिनिधिले बोर्ड अध्यक्षलाई प्राथमिक निष्कासन चाँडो अघि बढाउन दबाब दिन थालेको बुझिएको छ। आइतबार मात्रै धेरै कम्पनीका प्रतिनिधि बोर्ड पुगेका थिए।

आउने जति सबैलाई अध्यक्षले प्राथमिक निष्कासन आफ्नो पहिलो प्राथमिकतामा रहेको र क्रमिक रुपमा कागज पत्र पुगेका कम्पनीको स्वीकृति गर्दै लैजाने आश्वासन दिइरहेका छन्।

Read More