काठमाडौँ — सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सर्वसाधारणले सस्तोमा पाउने भन्ठानेका थिए । भन्सार दर र अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा स्थानीय बजारमा तोलामै १५ हजार ९ सय रुपैयाँले मूल्य सस्तियो पनि ।
तर गहना व्यवसायीले सर्वसाधारणलाई अपारदर्शी एवं मनलागी रूपमा ज्याला–जर्तीको मूल्य बढाएर भाउमा मनोमानी गरिरहेका छन् । यही कारण पनि होला, भन्सार दर घटेअनुसार सर्वसाधारणले सस्तोमा गहना किन्न पाएका छैनन् । मूल्य घटेपछि उनीहरूले जर्ती बढाएर सर्वसाधारणसँग महँगो मूल्य असुलिरहेका छन् ।


