काठमाडौं । कात्तिक महीनामा सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमध्ये आधा वित्त कम्पनीहरू रहेका छन् । कात्तिक महीनामा कुल कारोबार रकममा समृद्धि फाइनान्सले सर्वाधिक हिस्सा ओगटेको हो । यो महीना समृद्धि फाइनान्सको ३ अर्ब ९९ लाख रुपैयाँ बराबरको ३७ लाख ७२ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको देखिन्छ ।
कात्तिक महीनामा कुल १ खर्ब १५ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको २६ करोड १६ लाख ८० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा समृद्धि फाइनान्सको सर्वाधिक हिस्सा रहेको हो । सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयर मूल्य पनि असोज मसान्तसम्मको तुलनामा प्रतिकित्ता ३०१ रुपैयाँले बढेको छ । असोज मसान्तसम्म प्रतिकित्ता ६७१ रुपैयाँ रहेको समृद्धि फाइनान्सको शेयर मूल्य कात्तिक मसान्तसम्ममा प्रतिकित्ता ९७२ रुपैयाँ कायम भएको हो ।



