नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबार गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याँक गत साता नै सार्वजनिक गरेको भएपनि गभर्नर महाप्रसाद अधिकारी बाहिर रहेका कारण भोलि मात्रै समीक्षा सार्वजनिक गर्न लागेको हो।
राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र गर्नुपर्ने व्यवस्था छ। सोहि कारण पनि केन्द्रीय बैंक भोलि नै समीक्षा सार्वजनिक गर्ने तयारीमा लागेको हो।
मौद्रिक नीतिको समीक्षाका लागि केन्द्रीय बैंकको उच्च व्यवस्थापन तहमा समेत छलफल भइसकेको छ। राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामा कुनै नीतिगत परिवर्तन नहुने संकेत गरेको छ। तीन महिनामा मौद्रीक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले अहिले आफ्नो नीतिहरुलाई यथावत नै राख्ने बुझिएको छ।
मौद्रिक नीतिको पहिलो समीक्षामा पनि व्यवसायी, बैंकर र शेयर बजारका लगानीकर्ताहरुले समेत केहि नीतिगत परिवर्तन खोजिरहेका छन्। तर राष्ट्र बैंकले पहिलो समीक्षामा भने ठूलो परिवर्तन नगर्ने देखिएको छ। मौद्रिक नीतिमा नै केन्द्रीय बैंकले स्पेस रहेसम्मको लचकता अपनाएको थियो। यसले गर्दा पनि त्यसको प्रभावकारीता हेरेर मात्रै दोस्रो वा तेस्रो त्रैमासिक समीक्षामा केहि नीतिगत परिवर्तन हुन सक्ने बुझिएको छ।



