नेपालले स्विडेनसँग कार्बन व्यापार सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौता गरेसँगै नेपालले अब कार्बन उत्सर्जन कटौती गरेबापत् स्विडेनबाट पैसा पाउनेछ। नेपालले पहिलो पटक कुनै मुलुकसँग यस्तो सम्झौता गरेको हो।
स्विडेनसँग भएको यो सम्झौता किन महत्त्वपूर्ण छ भन्ने बुझ्नुअघि कार्बन व्यापारबारे बुझौं।
विभिन्न मानवीय गतिविधिबाट हावामा स्वास्थ्यका लागि हानिकारक कार्बन डाइअक्साइड ग्यासको मात्रा बढाउनुलाई कार्बन उत्सर्जन भनिन्छ। गाडीहरू चलाउँदादेखि खाना पकाउने ग्यासबाट पनि कार्बन डाइअक्साइड उत्पादन हुन्छ। त्यसरी उत्पादन हुने कार्बन डाइअक्साइडले पृथ्वीको सतहमा आएको सूर्यको तापक्रम सोसेर राख्छ। यसले गर्दा पृथ्वीको तापक्रम वृद्धि हुन्छ। यसरी हुने तापक्रम वृद्धिले जलवायु सम्बन्धी बाढी, पहिरो, सुख्खा लगायत प्रकोपको जोखिम बढाउँछ।



