सुनको भाउ एकैपटक धेरै घटेपछि बजारमा सुन पाइन छोडेको छ। पछिल्लो केहि दिनमा नै सुनको भाउ ह्वातै घटेपछि बजारमा सुन अभाव देखिएको हो।
सुनको भाउ घटेपछि बजारमा माग बढेको भए पनि सुन भने स्टक बाँकी नरहेको व्यवसायीहरु बताउँछन्। "सुनको भाउ घटेपछि सुनको माग बढेको छ। पसलहरुमा ग्राहकको चहलपहल बढेको छ। तर अर्डर लिनको लागि हामीसँग सुन नै छैन," एक सुन व्यवसायीले मेरो लगानीसँग भने।
अहिले बैंकहरुसँग सुनको स्टक शुन्य छ। केहि समय अघिदेखि नै बैंकहरुले सुनका स्टक शुन्य बनाएर बसेका छन्। व्यवसायीले माग नै नगरेपछि तिहार पछि सँघले आयातको लागि सिफारिस नै गरेको छैन। जसले गर्दा व्यवसायीले बैंकबाट सुन खरिद गर्न पाएका छैनन्। "बैंकहरुले अहिले सुनको स्टक शुन्य बनाएर बसेका छन्," नेपाल बैंकर्स एशोशियसनमा कार्यकारी निर्देशक अनिल शर्माले भने "करको दर घटेपछि भने सुन आयातको लागि सिफारिस गर्ने तयारी गरेका छौं।"
अहिले सुन व्यवसायीहरुले नै सुनचाँदी व्यवसायी महासँघले तोकेको मूल्यभन्दा बढी मूल्य तिरेर सुन खरिद गर्नुपर्ने अवस्था आएको व्यवसायीहरु बताउँछन्। "ग्राहकको माग धान्न नसक्दा अहिले हामीले नै महासँघले तोकेको भन्दा बढी मूल्य तिरेर सुन खरिद गर्नुपर्ने अवस्था आएको छ।" कलंकीस्थित एक सुन व्यवसायीले भने। उनका अनुसार उनीहरुले नै अहिले ४/५ हजार बढी मूल्य तिरेर सुन खरिद गर्नुपरेको अवस्था छ।



