सुर्खेत : राष्ट्रिय किसान आयोगले किसानलाई पेन्सन (निवृत्तिभरण) को व्यवस्था गर्न तीन तहका सरकारलाई सुझाव दिएको छ । पेन्सनका लागि आवश्यक नीति, कानुन र कार्यविधि निर्माण गर्नसमेत आयोगले सरकारलाई सुझाव दिएको हो । देशको आर्थिक विकासमा किसानको महŒवपूर्ण योगदान रहेको भन्दै आयोगले उनीहरूलाई पेन्सनको व्यवस्था गर्न सुझावसहित सिफारिस गरेको हो ।
किसानले दुःख गरेर राष्ट्रिय उत्पादनमा योगदान गरिरहेकाले उनीहरूको सामाजिक सुरक्षाका लागि पनि सरकारले पेन्सनको व्यवस्था गर्नुपर्ने आयोगको भनाइ छ । किसानको सामाजिक सुरक्षाको विषयमा सरकार गम्भीर हुनुपर्ने भन्दै आयोगले जीवनभर माटोमा दुःख गरेका किसानको पक्षमा कल्याणकारी काम गर्न आग्रह गरेको हो । आयोगले किसान कोषको स्थापना गरेर योगदानमा आधारित पेन्सनको व्यवस्था गर्न तीनै तहका सरकारलाई सुझाव दिएको हो । पेन्सनको व्यवस्था भएमा किसानको सामाजिक सुरक्षा बलियो हुने र कृषिमा आकर्षणसमेत बढ्ने आयोगको विश्वास छ ।



