काठमाडौँ — कम्पनी र सहकारीबीचको कारोबारमा आफूलाई कुनै जानकारी नभएको दाबी गर्दै आएका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले चेक काटेर सहकारीलाई ब्याज तिरेको प्रमाण भेटिएको छ । सहकारी बचत अपचलन छानबिन गर्न गठित संसदीय विशेष समितिले औंल्याएभन्दा बढी प्रमाण प्रहरीले फेला पारेपछि अदालतले समेत लामिछानेलाई थुनामा राख्ने म्याद थप्दै लगेको छ ।
सहकारी ठगीसम्बन्धी समाचार आउन थालेपछि हतार–हतार गठबन्धन बनाएर गृहमन्त्री भएका लामिछानेले सत्ता र शक्तिको दुरुपयोग गर्दै अनुसन्धान दबाउन खोजेका थिए । तर, संसद्मा निरन्तर आवाज उठेपछि बनेको विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरू जीबी राई, कुमार रम्तेल, छविलाल जोशी र रवि लामिछानेलाई ‘प्रचलित कानुनअनुसार कारबाही गर्न’ नेपाल सरकारलाई लेखी पठाएको थियो ।


