९ मंसिर, काठमाडौं । विद्युतीय सवारीसाधन आयातको संख्या बढ्दै जाँदा इन्धन खपत घट्ने अपेक्षा थियो । तर, चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चौमासिकको तथ्यांकले पेट्रोलको खपत बढेको देखाएको छ ।
डिजेलको आयात भने घटेको छ । भन्सार विभागका अनुसार चालु आव २०८१/८२ को पहिलो चौमासिक (साउन–कात्तिक) मा ३ लाख २४ हजार ४३१ किलोलिटर डिजेल आयात भएको छ ।
अघिल्लो आवको पहिलो चौमासिकमा ३ लाख ५९ हजार ६ सय किलोलिटर डिजेल आयात भएको थियो । तथ्यांक अनुसार यस वर्ष डिजेल आयातमा २९ अर्ब ४ करोड २० लाख रुपैयाँ विदेशिएको छ । गत आवमा डिजेलको आयातमा ४० अर्ब ३१ करोड रुपैयाँ विदेशिएको थियो ।



