काठमाडौंं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तरराष्ट्र्रिय उडान गर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।
हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको सरोकारवाला वायुसेवा कम्पनीहरूलाई उच्चतम मूल्यको भाडा लिएको भन्दै त्यसबारे पुनःविचार गर्न उनले निर्देशन दिएका हुन् ।
‘हामीले नागरिकहरूकै सेवा भनेर हवाई कम्पनीहरूलाई सहुलियत दिएका थियौं । तर, त्यसको उपहास भएको छ । राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ,’ मन्त्री पाण्डेले भने, ‘नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गर्नुभएको छ । यस विषयले म निकै दुःखी भएको छु ।’



