काठमाडौं । चालू आर्थिक वर्ष (आव)मा राजस्व प्राप्तितर्फ महत्त्वाकांक्षी लक्ष्य राखेको सरकारले अपेक्षित रूपमा राजस्व उठाउन सकेको छैन । चालू आवको पहिलो चौमासिक अवधिमा आन्तरिक राजस्वमा केही सुधार देखिए पनि भन्सारतर्फ उल्लेख्य सुधार नभएको सार्वजनिक गरिएका तथ्यांकले देखाएका छन् ।
आन्तरिक राजस्व विभागले कात्तिकसम्ममा १ खर्ब ४० अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम आव २०८०/८१ को सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो । अर्थ मन्त्रालयका अनुसार विभागले गत आवको कात्तिक मसान्तसम्म १ खर्ब २७ अर्ब ४५ करोड रुपैयाँ संकलन गरेको थियो ।
मन्त्रालयका अनुसार विभागले लक्ष्यको ७७ दशमलव ८४ प्रतिशत मात्र राजस्व उठाएको छ । चालू आवको चार महीनामा विभागले १ खर्ब ८० अर्ब १५ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो ।



