नेपालको आर्थिक भविष्य: साना उद्यमलाई सशक्त बनाउन केन्द्र स्थापना


  • Himalayan Bank Limited (HBL)
नेपालको आर्थिक भविष्य: साना उद्यमलाई सशक्त बनाउन केन्द्र स्थापना

नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुने संघारमा रहेको सन्दर्भमा यसबाट आइपर्ने चुनौति सामना गर्न साना उद्यम एवं स्टार्ट अपमा नवप्रवर्तन आवश्यक रहेको सरोकारवालाहरुले वताएका छन । नेपालले अन्तराष्ट्रियस्तरमा पाइरहेको सुविधा कटौति हुने भएकाले प्रतिष्पर्धि बन्न नवीनता र तुलनात्मक लाभका क्षेत्र पहिचान गर्नुपर्ने उहाँहरुको धारणा थियो । 

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको एफएनसिसिआइ इनोभेसन डायलगमा महासंघ अध्यक्ष ढकालले साना, मझौला, र लघु उद्यममा पर्ने प्रभाव कम गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने वताउनुभयो । लामो समयदेखि आन्तरिक माग घटेकाले धेरै साना र मझौला उद्यमहरू समस्यामा रहेको वताउँदै अध्यक्ष ढकालले अन्तराष्ट्रियस्तरमा बढने चुनौति सामना गर्न नवप्रवर्तनमा लगानी बढाउनुपर्ने वताउनुभयो । 

नेपाल सन २०२६ नभेम्बरदेखि अतिकम बिकसित मुलुकबाट बिकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदैछ । त्यसपछि युरोपेली युनियन लगायत विभिन्न बिकसित देशहरुमा पाइरहेको भन्साररहित सुविधा गुम्नेछ । ढकालले नेपाली उत्पादनहरू बढ्दो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सामना गरिरहेको बताउँदै उच्च गुणस्तरका सामान उत्पादन गरी बजारको माग पूरा गर्न व्यवसायीहरूले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । सरकारको भूमिका आवश्यक सहयोग सेवा उपलब्ध गराउनेमा महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । घरेलु आर्थिक गतिविधि बढाउन, कर प्रणालीलाई सरल, व्यवसाय–मैत्री, र पारदर्शी बनाउनुपर्ने उहाँका्े भनाइ थियो । यसैगरि दर्ता र नविकरण एकै ठाउँबाट गर्न पाउने व्यवस्था लगायतको सुधार आवश्यक रहेकोमा उहाँको जोड थियो । 

यस अवसरमा उद्योग सचिव कृष्णबहादुर राउतले पुराना कानुनमा परिमार्जन गरि व्यवसायी मैत्री बनाउने प्रयास भैरहेको वताउनुभयो । बौद्धिक सम्पत्ति सम्बन्धी कानुन परिमार्जन गरिरहेको उदाहरण प्रस्तुत गर्दै उहाँले नवप्रवर्तनमा सहयोग पुग्ने गरि नीतिगत सुधार गरिने जानकारी गराउनुभयो । 

त्यसैगरी, राष्ट्रिय योजना आयोगका सचिव मधु कुमार मरासिनीले नेपालले अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुने हुँदा पछि तल झर्न नपर्ने गरि तयारी गर्नुपर्ने वताउनुभयो । चुनौति सामना गर्न निजी क्षेत्रले पनि पहल गर्नुपर्ने वताउनुभयो । निजी क्षेत्रको विकल्प छैन उहाँले भन्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सोचाइमा परिवर्तन गर्न आह्वान गर्दै स्तरोन्नतिपछिको प्रगतिलाई कायम राख्न नवप्रवर्तनशील र नयाँ दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । श्रेष्ठले स्थिर नीतिगत वातावरणको महत्व र निजी क्षेत्रको विकासलाई सहज बनाउने तर्फ सरकारको आफ्नो भूमिकालाई प्राथमिकता राख्नु पर्ने कुरामा जोड दिनुभयो ।
 

महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना


नेपाल उद्योग वाणिज्य महासघमा लघु घरेलु तथा साना मझौला उद्यम बिकास केन्द्र स्थापना भएको छ । केन्द्रको उदघाटान सोमबार राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण राउत र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त रुपमा गर्नुभयो । 

केन्द्रले व्यवसाय सञ्चालनका लागि आवश्यक सीप, प्रविधि, र तालिम प्रदान गर्नेछ । साथै, उद्यमीहरूलाई सशक्त बनाउनका लागि बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन, र व्यवसाय रणनीतिसम्बन्धी सहायता पनि उपलब्ध गराउनेछ । 

केन्द्रले उत्पादन क्षमता बढाउन र गुणस्तर सुधार गर्न प्राविधिक सल्लाह तथा उपकरणहरू उपलब्ध गराउनेछ । साथै, आधुनिक उत्पादन प्रविधि, यसको प्रयोग र प्रक्रियागत सुधारहरू अपनाउन सहयोग गर्नेछ । केन्द्रले उत्पादित सामग्रीलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन, व्यापार मेलाहरू, प्रदर्शनीहरू, र अन्य व्यापार प्रवर्द्धन कार्यक्रममा सहभागी गराई बजार विस्तार गर्न पनि सहजीकरण गर्नेछ ।

FNCCIr

लघु, घरेलु, साना तथा मझौला उद्यम विकास केन्द्रले व्यवसाय सञ्चालन, व्यवस्थापन, उत्पादन, र विपद व्यवस्थापनका लागि सल्लाहकारहरूको परामर्श सेवा पनि उपलब्ध गराउनेछ । यसले व्यवसाय सम्बन्धी समस्याहरू समाधान गर्न र कानुनी सल्लाह प्रदान गर्न मार्गदर्शन गर्नेछ । केन्द्रले उद्यमीहरूलाई व्यवसाय दर्ता, लाइसेन्स प्राप्ति, कर सम्बन्धी जानकारी, र सरकारी नियमहरूको पालना गर्न सहयोग गर्नेछ।

केन्द्रले नयाँ व्यवसायिक अवसरहरूको पहिचान गर्न सहयोग गर्नेछ र उद्यमीहरूलाई नवप्रवर्तन गर्न, अनुसन्धान गर्न, र आफ्नो व्यवसायमा नवीनता तथा प्रतिस्पर्धात्मक लाभ ल्याउन प्रोत्साहित गर्नेछ । केन्द्रले लघु, साना, घरेलु, र मझौला उद्यमीहरूबीच नेटवर्किङ अवसर सिर्जना गरी अनुभव आदान–प्रदान, साझेदारी, र सहकार्यलाई प्रोत्साहन गर्नेछ ।