नेपाल धितोपत्र बोर्ड अध्यक्ष विहीन हुँदाको प्रत्यक्ष असर मर्चेन्ट बैंकको व्यवसायमा परेको छ। मर्चेन्ट बैंकले गर्दै आइरहेका सबै जसो काम ठप्प भएका छन्। जसले गर्दा उनीहरूको नियमित आम्दानीमा समेत गम्भीर धक्का लागिरहेको छ।
सबैभन्दा पहिले त मर्चेन्ट बैंकहरुले प्राथमिक निष्कासनको काम गर्ने गरेका थिए। जुन ठप्प छ। जसले प्राथमिक निष्कासनबाट हुने आम्दानी शून्य हुन पुगेको छ। किनकि गएको १० महिना यता कुनै पनि कम्पनीले निष्कासन अनुमति पाएका छैनन्। जसले गर्दा निष्कासनको काम ठप्प हुन पुगेको हो।
अर्कोतर्फ मर्चेन्ट बैंकले प्रत्याभूतिको काम गर्ने गरेका थिए। त्यो पनि अहिले ठप्प छ। किनकि निष्कासन अनुमति नै आउन छाडेपछि नयाँ कम्पनीहरू निष्कासनमा आउन छाडेका छन्। जसले गर्दा उनीहरूको यो व्यवसाय पनि शून्य जस्तै छ। अर्कोतर्फ यस अघि नै प्रत्याभूतिको जिम्मा लिएका कम्पनीहरूले नयाँ काम लिन सक्ने अवस्था छैन। किनकि मर्चेन्ट बैंकले आफ्नो निश्चित चुक्ता पूँजीको निश्चित प्रतिशत मात्रै प्रत्याभूति गर्न सक्छन्। जसले गर्दा धेरै जसो मर्चेन्ट बैंकको लिमिट टाइट हुन पुगेको छ। प्राथमिक निष्कास स्वीकृति नियमित हुँदा एउटाको काम सकेर अर्को गर्न सक्ने अवस्था हुन्थ्यो। तर अहिले पहिले नै सम्झौता गरेकाहरूको नै निष्कासन नहुँदा अर्को सम्झौता गर्न सक्ने अवस्था छैन।
मर्चेन्ट बैंकको अर्को आम्दानीको स्रोत भनेको अक्सन मार्केट पनि हुने गर्थ्यो। त्यो पनि अहिले सुस्त छ। हकप्रद शेयर अनुमति कम हुँदा अक्सन पनि खासै आएका छैनन्। पहिले नियमित हकप्रद निष्कासन हुने र बिक्री नभएको शेयर अक्सनमा आउने गरेको थियो। अक्सनमा शेयर किनेर पनि धेरै मर्चेन्ट बैंकले नाफा कमाउने गरेका थिए। लगानीको त्यो क्षेत्र पनि सुस्त छ।





