काठमाडौं । ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले २०७९ कात्तिक ३ गतेदेखि लगानीकर्तालाई शेयरमा लगानी गर्न कर्जा दिन थालेको थियो । राष्ट्र बैंकको सहमतिपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नासालाई यस्तो कारोबार (मार्जिन कारोबार) का लागि अनुमति दिएको थियो । उक्त समयमा नासाले १ महीनामा ९ जनालाई ९० लाख रुपैयाँको मार्जिन कारोबार सुविधा प्रदान गरेको जानकारी दिएको थियो । तर, उक्त ब्रोकर कम्पनीले मार्जिन कारोबार सेवा स्थगित गरेको लामो समय भइसकेको छ । स्रोत अभावका कारण नयाँ लगानीकर्तालाई मार्जिन कारोबार सुविधा दिन नसकेको नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौड्यालले आर्थिक अभियानलाई बताए । ‘बैंक, वित्तीय संस्थाबाट हामीलाई स्रोत उपलब्ध हुँदैन र आफ्नै पूँजीको भरमा यो सुविधा धेरैलाई दिन सकिँदैन ।’



