काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गर्ने कर्जा साढे ६ अर्ब रुपैयाँले घटेको छ । गत भदौसम्म बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गरेको कर्जा ३ खर्ब ५ अर्ब रुपैयाँ छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यो शीर्षकमा प्रवाह भएको कर्जा ३ खर्ब १४ अर्ब रुपैयाँ थियो । गत आर्थिक वर्षको दुई महिनामा यो क्षेत्रमा प्रवाह हुने कर्जा करिब ७ अर्बले बढेको थियो । चालु आर्थिक वर्षको दुई महिनासम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा १.२ प्रतिशतले बढ्दा विपन्न वर्ग कर्जामा २.१ प्रतिशतले संकुचन आएको छ । अर्थतन्त्र शिथिल रहेको र लघुवित्त वित्तीय संस्थाको कर्जा प्रवाहमा संकुचन आएपछि गत आर्थिक वर्षमा विपन्न वर्ग कर्जामा कमी आएको थियो ।


