काठमाडौँ — रुसले विश्वकै ठूला प्रविधि कम्पनीमध्ये एक, गुगललाई गणना गर्न र जम्मा गर्न सम्भवै नभएको राशीको जरिवाना तिर्नुपर्ने सजाय सुनाएको छ । गुगलले रुसलाई २ अंकको पछिल्तिर ३६ वटा शून्य हुने गरी गणना नै सम्भव नभएको रकम तिर्नुपर्ने विषय अहिले सामाजिक सञ्जाल र मिडियामा रोचक खबर बनेर छाइरहेको छ ।
गुगलले आफ्नो स्ट्रिमिङ प्लाटफर्म युट्युबमा रुसका केही च्यानलमा प्रतिबन्ध लगाइदिएको प्रतिकृयास्वरुप रुसले समग्र विश्वको कुल गार्हस्थ्य उत्पादनभन्दा पनि कयौं गुणा ठूलो रकम जरिवाना तोकिदिएको हो । रुसी राष्ट्रिय समाचार संस्था ‘तास’ का अनुसार यसअघि रुसी अदालतले गुगललाई ती युट्युब च्यानल रिस्टोर गर्न (प्रतिबन्ध हटाउन) वा तोकिएको जरिवाना तिर्न निर्देशन दिएको थियो ।


