काठमाडौं । नेपालले बंगलादेश बिजुली निर्यात गर्न सक्ने समयावधि घर्किनै लाग्दा नेपालले बिजुली निर्यात शुरू गर्न सकेको छैन । असोज १७ गते नेपाली, बंगलादेशी र भारतीय सरकारी संस्थाबीच भएको त्रिपक्षीय विद्युत् व्यापार सम्झौताअनुसार नेपालले वर्षायामका ५ महीना (हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म) बंगलादेशलाई भारत हुँदै ४० मेगावाट बिजुली बेच्न सक्छ ।
तर, नोभेम्बर १५ आउन ९ दिनमात्र बाँकी हुँदा नेपालले बंगलादेश बिजुली निर्यात गर्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालले विद्युत् निर्यातका लागि भारतीय सरकारी निकायको अनुमति पर्खेर बसिरहेको आर्थिक अभियानलाई बताए । भारत सरकारअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणबाट विद्युत् व्यापारको स्वीकृति दिनुपर्ने हुन्छ ।



