जनकपुरधाम । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल उत्पादन शु्रू गरेको छ । धान र चामलको खरिद–बिक्री गर्दै आएको सो कार्यालयले पौष्टिक तत्व भएको भिटामिनयुक्त चामलसमेत उत्पादन गरेर वितरण शुरू गरेको सो कार्यालयका कार्यालय प्रमुख गङ्गाप्रसाद साहले जानकारी दिए ।
विश्व खाद्य कार्यक्रमअन्तर्गत जनकपुरस्थित सो कार्यालयको हाताभित्र फोटोफिकेसन प्लान्ट जडान भएको छ तथा त्यस प्लान्टबाट सो भिटामिनयुक्त चामल उत्पादन भइरहेको बताइएको छ । त्यहाँ चामलको गुणस्तर समेत जाँच गरिन्छ । २०८१ वैशाख महिनामा प्लान्ट जडान भएको हो । प्लान्ट जडान भएपछि यस कार्यालयबाट उत्पादन सुरु भएको सो पौष्टिक चामल कर्णाली प्रदेशमा वितरण गरिँदै आएको छ ।



