काठमाडौं। विद्युत् नियमन आयोगले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता महशुलको किस्ता तिरेमा काटिएको बिजुली आपूर्ति सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
बुधवार आयोगले बैठक राखेर यस विषयमा निणर्य गर्दै महशुल नबुझाएका कारणबाट लाइन काटेको भए सम्बद्ध ग्राहकले त्यस्तो आवधिक रकम (किस्ता) बुझाएपछि मात्र लाइन जोडिदिन प्राधिकरणलाई पत्र लेखेको हो 'नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८१ वैशाख २७ गतेको निणर्यमा उल्लेख भएको २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिको विवादित डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता विद्युत् महशुलको हकमा मात्र सम्बद्ध उपभोक्ताबाट आवधिक रूपमा असुल/फरफारक गर्ने गरी तहाँ प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महशुल नबुझाएका कारणबाट लाइन काटेको भएतापनि सम्बद्ध ग्राहकले त्यस्तो आवधिक रकम बुझाएपछि तत्कालै विद्युत् लाइन जोडिदिने,’ आयोगले प्राधिकरणलाई पठाएको पत्रमा उल्लेख छ ।



