काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएका अन्य चारवटा सहकारी संस्थाको रकम अपचलनमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा लामिछानेसँगै उनका व्यावसायिक साझेदार छविलाल बन्जाडे जोशी पनि कास्की प्रहरीकै हिरासतमा छन् ।
लामिछानेमाथि पाँचवटै सहकारीको रकम अपचलनमा अनुसन्धान गर्दै प्रहरी
पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय ५० जना सर्वसाधारणले बचत गरेर राखेको रकम हिनामिना भएपछि जिल्ला अदालत कास्कीले १४ जनाविरुद्ध पक्राउ पुर्जीको अनुमति दिएको थियो । जसमध्ये गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि एक हुन् । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक जोशी र कुमार रम्तेलले हिनामिना गरेको प्रहरीले निष्कर्ष निकालेको थियो ।



