काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्ममा कुल सक्रिय जीवन बीमालेखको संख्या १ लाखभन्दा बढीले घटेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार यो आवको पहिलो तीन महीनासम्ममा सक्रिय जीवन बीमालेखको संख्या १ करोड ३७ लाख ६६ हजार ४४८ छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा १ लाख १ हजार १३३ (०.७३ प्रतिशत)ले कम हो । गत आवको सोही अवधिमा यस्तो बीमालेखको संख्या १ करोड ३८ लाख ६७ हजार ५८१ थियो ।
चालू आवको पहिलो त्रैमासिकमा म्यादी र लघु म्यादी जीवन बीमालेखको संख्या ह्ववात्तै घटेपछि कुल सक्रिय जीवन बीमालेखको संख्यामा कमी आएको तथ्यांकले देखाउँछ । यो अवधिमा उक्त बीमालेखको संख्या ७ लाख १५ हजार ७८४ (१०.६७ प्रतिशत)ले घटेको छ । गत आवको पहिलो त्रैमासमा ६७ लाख ५ हजार ४८९ रहेको यस्तो बीमालेख चालू आवको सोही अवधिमा घटेर ५९ लाख ८९ हजार ७०५ कायम भएको छ ।



