गत असोजको दोस्रो साता गएको बाढी पहिरोको कारण क्षतिको दाबीबापत बीमा कम्पनीहरुले अहिलेसम्म ३० करोड रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । कात्तिक ६ गतेसम्मको बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुमा साढे ९ अर्ब दाबी परेको छ । बीमा कम्पनीहरूमा ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बढीको दाबी बीमा परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
उक्त दाबीमध्ये असोज ६ गतेसम्म ३० करोड ३६ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ जुन कुल दाबीको ३ दशमलब १८ प्रतिशत मात्रै हुन आउँछ । दाबी भुक्तानीमध्ये पनि शिखर इन्स्योरेन्स एक्लैले २१ करोड ५० लाख र बाँकी अन्य निर्जीवन बीमा कम्पनीहरूले भुक्तानी गरेकाे छ। शिखरमा ९८ करोड ८१ लाख रुपैयाँको दाबी परेको थियो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ करोड १ लाख रुपैयाँ भुक्तानी दिएको छ भने दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ३ लाख ९४ हजार ४ सय ७५ रुपैयाँ, नेको इन्स्योरेन्सले २ लाख १९ हजार २ सय ६९ रुपैयाँको भुक्तानी दिएको छ ।
यता हिमालयन एभरेष्टले १ करोड ५५ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक करोड १९ लाख रुपैयाँ तथा नेसनल इन्स्योरेन्सले २२ लाख ५३ हजार ८ सय ९९ रुपैयाँ दाबी भुक्तानी दिएको छ ।



