काठमाडौँ । दसैँ बिदा हुनुअघि असोज १७ गते नेपालको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने दुई सम्झौता भए । एउटा, नेपाल–बङ्गलादेश विद्युत् व्यापारको सम्बन्धमा त्रिपक्षीय सम्झौता अर्को सिलिगुडी–चारआली अन्तर्देशीय तथा अमलेखगन्ज–लोथर पाइपलाइन र यससँग सम्बन्धित भण्डारण गृह निर्माणसम्बन्धी सम्झौता ।
यीमध्ये विद्युत् व्यापारसम्बन्धी सम्झौता नेपालमा भएको थियो भने पाइपलाइन र डिपोसँग सम्बन्धित सम्झौता भारतमा गरिएको थियो । बहुप्रतिक्षित मानिएको विद्युत् व्यापारसम्बन्धी सम्झौताको विषयले त्यतिबेला निकै चर्चा पाउँदा पेट्रोलियम सम्बद्ध चार परियोजनाका लागि भएका सम्झौता छायामा परे । यद्यपि ऊर्जा सुरक्षाको लागि यो सम्झौता एउटा ‘माइलस्टोन’ भएको नेपाल आयल निगम (एनओसी) का अधिकारीहरू बताउँछन् ।



