काठमाडौँ — आफ्ना उत्पादन निर्यात गर्न सरकारले स्वदेशी उद्योगलाई निर्यात अनुदान घोषणा गरे पनि दुई वर्षयता कार्यान्वयन भएको छैन । अनुदान वितरण गर्न कार्यविधि नबनेको पनि होइन । तर पर्याप्त बजेट विनियोजन नहुँदा उद्योगीहरूले २ वर्षयता अनुदान पाएका छैनन् । फेडेरेसन अफ नेपाल एक्सपोर्टर्स एसोसिएसनका अनुसार २ वर्षको साढे ३ अर्बभन्दा बढी अनुदान वितरण भएको छैन ।
अनुदान वितरण नहुँदा उद्योगमा पुँजीको अभाव भएको एसोसिएसनका अध्यक्ष पवनकुमार गोल्यान बताउँछन् । राजस्व सचिव दिनेशकुमार घिमिरेसँग छलफल गर्दा ०७९/८० को निर्यात अनुदान १ अर्ब ७० करोड रहेको जानकारी आफूहरूले पाएको गोल्यानको भनाइ छ । ०८०/८१ को निर्यात अनुदान थप बढी रहेको उनको दाबी छ । ‘उद्योगीहरूले दुई वर्षदेखि साढे ३ अर्बभन्दा बढी रकम पाएका छैनन् । सरकारलाई बुझाउनुपर्ने कर, भ्याट सबै बुझाएका छन् । तर उद्योगीले पाउने पैसा पाएनन्,’ अध्यक्ष गोल्यानले भने, ‘पैसा रोकिँदा कर्मचारीलाई तलब खुवाउनै समस्या भयो । बैंकबाट ऋण लिए ब्याज लाग्छ । तर सरकारबाट पाउने रकम पाएनौं ।’


