झापा, कात्तिक ५ गते । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१-८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो ।
चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । चालु आवको पहिलो तीन महिनामा रु एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ । आव २०८०र८१ को सोही अवधिमा रु एक अर्ब १३ करोड ५९ लाख ९४ हजार बराबरको चिया निर्यात भएको थियो ।



