प्रतिपक्ष दलहरुले कर्मचारीलाई तलव दिने पैसा नभएकाे बेला सरकारले परराष्ट्र मन्त्रालयमा ११० जनाभन्दा बढी कर्मचारी थप्ने निर्णय गरेकाेमा बिराेध गरेका हुन । शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरुको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
यसैगरी, प्रतिपक्ष दलहरुले जनसरोकारका विभिन्न विषयहरुमा ध्यानाकर्षण गराउँदै सरकारलाई ज्ञापन पत्र बुझाउने भएका छन् । जनसरोकारका विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो ।
बैठकले प्राकृतिक विपद्को समयमा सरकार जनताप्रति जवाफदेही नभएको र उदासिन भएको निस्कर्ष पनि निकालेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकार जनसरोकारका विषयहरु सम्बोधन गर्न केन्द्रीत नभइ निहित स्वार्थलाई प्राथमिकतामा राखेर अगाडी बढेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन लागिएको बताए ।
उनले ध्यानाकर्षण गराउँदा पनि सरकारमा जिम्मेवारीबोध नदेखिएमा संसदको विशेष अधिवेशनको माग गरिने बताए ।
उनले भने– ‘अहिले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को स्थिति थियो । त्यसको पूर्वतयारीदेखि लिएर खोज, उद्धार, उपचार र त्यसको पुर्नस्थापनाको बारेमा सरकारले जुन गम्भीरताका साथ, जुन जिम्मेवारीबोधका साथ काम गर्नुपथ्र्यो, त्यो नगरि राखेको हामीले महशुस गरिराखेका छौँ । यो छलफलमा त्यो कुराको बारेमा गम्भीर समिक्षा गरियो । सरकार उदासिन छ । सरकार जनताप्रति जवाफदेहि भइराखेको छैन । सरकारका प्राथमिकताहरु जनसरोकारका विषयहरुलाई सम्बोधन गर्ने र समाधान गर्नेतिर केन्द्रित नभएर सरकारले पार्टीगत स्वार्थ, निहित स्वार्थलाई प्राथमिकतामा राखेर अगाडी बढेको महशुस गरेको छ । यो सबै परिस्थितिलाई ध्यान दिएर तत्काल प्रतिपक्ष पार्टीहरुको तर्फबाट सरकारलाई ध्यानाकर्षण गराउने र ज्ञापन पत्र पेश गर्ने समझदारी भएको छ । सरकारले जनसरोकारका विषय जुन प्रतिपक्ष दलले उठाएका छन्, त्यसप्रति गम्भीरता देखाएन, जिम्मेवारीबोध गरेन र सकारात्मक ढंगले सम्बोधन गरेन भने विशेष अधिवेशनको आव्हान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ । त्यो बारेमा पनि छलफल भयो । तर अहिले जनसरोकारका यि सबै विषयहरुलाई लिएर सरकारको ध्यानाकर्षण गराउने र ज्ञापन पत्र पेश गर्ने निष्कर्ष निकालेको छ । राजनीतिक आग्रह पूर्वाग्रह देखिने खालको झल्किने खालको कुनै संकेत देखिनु हुँदैन भन्ने कुरामा हामी सचेत छौँ । (रवि लामिछानेलाई पक्राउ गर्ने सन्दर्भमा) यो कुरालाई गम्भीरतापूर्वक उठाएका छौँ । सबै पार्टीको त्यही प्रकारको धारणा रहेको छ ।’



