काठमाडौं– दशैंअघि वर्षा, बाढी, पहिरोलगायत विपद् निम्तँदा त्यसको असर निजी क्षेत्रमा जाने कर्जा प्रवाहमा परेको छ । विगतका वर्षहरुमा चाडपर्वका बेला कर्जा प्रवाह बढ्ने र त्यसले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्दै आएको थियो । तर, यो वर्ष अपेक्षा गरिएअनुसार कर्जा प्रवाह बढ्न सकेन । यसको प्रमुख कारण दशैं अगाडिको विनाशकारी प्राकृतिक प्रकोपलाई मानिएको छ ।
दशैं लक्षित लत्ताकपडा तथा खाद्यान्नजस्ता किनमेलका सामग्री आयात गर्न समेत समस्या हुँदा विगतको तुलनामा यस वर्ष निजी क्षेत्रबाट निकै न्यून कर्जा माग भएको सरोकारवाला बताउँछन् । विपत्ले बाटो नै अवरुद्ध गरेको मात्र नभई ठूलो जनधनको क्षति गरेका कारण पनि समस्या सिर्जना भएको हो ।



