नेपालमा वित्तीय ठगीको नयाँ प्रबृत्ति : कसरी जोगिने ?


  • Himalayan Bank Limited (HBL)
नेपालमा वित्तीय ठगीको नयाँ प्रबृत्ति : कसरी जोगिने ?

हालका वर्षहरूमा नेपालमा अनलाइन वित्तीय ठगीका घटनाहरू तीव्र रूपमा बढिरहेका छन्। प्रविधिको सहज पहुँच र डिजिटल कारोबारको वृद्धिसँगै ठगहरूले विभिन्न नयाँ तरिकाहरू अपनाउँदै सर्वसाधारणलाई आर्थिक रूपमा ठग्ने प्रयास गरिरहेका छन्। खासगरी मोबाइल म्यासेजिङ एपहरू जस्तै WhatsApp, Viber, र Messenger मार्फत अपरिचित व्यक्तिबाट आएका सन्देशहरू मार्फत ठगीका नयाँ स्वरूपहरू देखापरिरहेका छन्। यी ठगीका घटनाहरूले सर्वसाधारणको वित्तीय सुरक्षामा गम्भीर चुनौती उत्पन्न गरेका छन्। 

ठगीका नयाँ तरिकाहरू

आजकल ठगीका नयाँ तरिकाहरूले सर्वसाधारणलाई फसाउने क्रम बढ्दो छ। ठगहरूले आकर्षक प्रस्ताव र झुटा दावीहरू गर्दै मानिसहरूलाई फसाउने अनेक तरिकाहरू अपनाइरहेका छन्। छिटो मुनाफाको प्रलोभन देखाउँदै, ठगहरूले क्रिप्टोकरेन्सी, FOREX, वा विदेशमा लगानीका नाममा छोटो समयमा ठूलो फाइदा हुने झुटा आश्वासन दिन्छन्, जसमा विश्वास गर्दा ठगिएर आर्थिक नोक्सानी हुने सम्भावना धेरै हुन्छ।

साथै, कतिपयले नक्कली पुरस्कार र पार्सल ठगीको प्रवृत्ति अपनाउँछन्, जसमा मोबाइलमा विदेशबाट पार्सल आएको वा पुरस्कार जितेको सन्देश पठाएर व्यक्तिगत विवरण वा रकम माग्छन्। यस्ता सन्देशहरू प्रायः झुटा हुन्छन् र ठगीको उद्देश्यले गरिएका हुन्छन्। QR कोड र नक्कली लिंक पठाएर स्क्यान गर्न लगाउने ठगहरूको चलखेल पनि देखिन्छ, जसले बैंक खाताबाट पैसा चोर्न वा व्यक्तिगत जानकारी प्राप्त गर्न सक्छन्। परिचित व्यक्तिको नक्कली खाता बनाएर तत्काल रकम पठाउन अनुरोध गर्ने ठगी प्रवृत्ति पनि बढ्दो छ। यी सबै तरिकाबाट सुरक्षित रहन सजग र सचेत रहनु आवश्यक छ।

कसरी जोगिने ?

वित्तीय ठगीबाट जोगिनका लागि सर्वसाधारणले केही सावधानीका उपायहरू अवलम्बन गर्न आवश्यक हुन्छ। अपरिचित व्यक्तिबाट आएका सन्देशहरूलाई बेवास्ता गर्नु पहिलो उपाय हो। यस्ता सन्देशमा गरिएको कुनै पनि प्रस्तावको सत्यता जाँच नगरी प्रतिक्रिया नदिनु नै सुरक्षित हुन्छ। QR कोड र अनधिकृत लिङ्कहरू स्क्यान नगर्नु अर्को महत्त्वपूर्ण उपाय हो।

विश्वासिलो स्रोतबाट मात्र QR कोड प्रयोग गर्नुपर्छ र अनधिकृत लिङ्कमा क्लिक गरेर वित्तीय जानकारी नदिने सावधानी अपनाउनुपर्छ। साथै, आफ्ना व्यक्तिगत जानकारी, जस्तै बैंक खाताका विवरण, पासवर्ड, वा मोबाइल वालेटसँग सम्बन्धित जानकारी कसैलाई पनि नदिने बानी बसाल्नुपर्छ। ठगहरूले परिचित व्यक्तिको नाममा ठगी गर्न सक्छन्, त्यसैले परिचित व्यक्तिले पठाएको सन्देश भए पनि, पहिले उसलाई फोन गरेर सन्देशको सत्यता पुष्टि गर्नु उपयुक्त हुन्छ। यस्ता सावधानीका उपायहरूले वित्तीय ठगीबाट जोगिन मद्दत गर्छन्।

नेपालमा यस्ता घटनाहरूको रोकथामका लागि सरकार, नेपाल राष्ट्र बैंक, बैंकहरू तथा वित्तीय संस्थाहरूले विभिन्न अभियानहरू सञ्चालन गर्दै आएका छन्। बैंकहरूले आफ्नो ग्राहकलाई व्यक्तिगत विवरण गोप्य राख्न, अपरिचित म्यासेजहरूको जवाफ नदिन, र शंका लागेमा तत्काल बैंकलाई सम्पर्क गर्न सुझाएका छन्। साथै, साइबर अपराध नियन्त्रणका लागि सरकार र प्रहरी प्रशासनले अनलाइन ठगी निगरानीलाई प्राथमिकता दिइरहेका छन्।

वित्तीय ठगीको समस्या नेपालमा दिनानुदिन बढ्दै गएको छ, तर सचेतना र सावधानी अपनाएर यस्ता ठगीका जोखिमबाट जोगिन सकिन्छ। सर्वसाधारणले आफ्नो आर्थिक सुरक्षाका लागि डिजिटल माध्यममा कुनै पनि किसिमको कारोबार गर्दा सतर्कता अपनाउनु आवश्यक छ।