काठमाडौँ — यही असोज १० देखि परेको अविरल वर्षाले पुर्याएको क्षतिमध्ये गत बुधबारसम्म करिब २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँबराबरको बिमा दाबी परेको छ । ७ सय ९ दाबी संख्याबाट उल्लेखित बमोजिमको रकम मागदाबी गरिएको नेपाली बिमा प्राधिकरणले जनाएको छ ।
तर उक्त अवधिमा करिब सवा सात अर्ब रुपैयाँ बराबरको बिमा दाबी पर्ने प्रारम्भिक अनुमान प्राधिकरणको छ । बिमा कम्पनीहरूको प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचनाका आधारमा दुई हजार तीन सय ३७ आवेदनबाट सात अर्ब २८ करोड ८५ लाख रुपैयाँको दाबी पर्न सक्ने नेपाल बिमा प्राधिकरणले जनाएको छ । यो असोज १० देखि १६ सम्मको मात्र तथ्यांक हो । दाबी पर्ने क्रम चलिरहेकाले दाबी संख्या र रकम अझै बढ्ने सम्भावना रहेको प्राधिकरणले बताएको छ । ‘उल्लिखित तथ्यांक करिब ४/५ दिन (असोज १० देखि १६ सम्म) को मात्र हो, बाँकी विवरण आउन बाँकी छ,’ स्रोतले भन्यो, ‘थप विवरण आएपछि मात्र यकिन तथ्यांक आउनेछ ।’


