काठमाडौँ । राष्ट्रिय परिचयपत्र नभएको भन्दै दसैँको मुखमै सयौँ व्यक्तिहरूको पेन्सन रोकिएको छ । यसका कारण पेन्सन लिएर दसैँ मनाउने योजनामा रहेका हजारौँ ‘पेन्सन होल्डर’हरूको बिचल्ली भएको छ ।
निजामती तथा राष्ट्रसेवक कर्मचारीको पेन्सनको व्यवस्थापन गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय परिचयपत्र नभएकालाई धमाधम फिर्ता पठाइरहेको गुनासो सेवाग्राहीले गर्दै आएका छन् । बैंकको बत्तीसपुतली शाखामा पेन्सन लिन पुगेकी माया गौतमले राष्ट्रिय परिचयपत्र नभएको भन्दै फर्काइएको गुनासो गरिन् । तीन महिनाको पेन्सन दिएर दसैँ खर्च धान्ने सोच बनाएकी उनले यही कारण समस्यामा परेको गुनासो समेत गरिन् ।



