काठमाडौं– बैंकिङ प्रणालीमा मुद्दति खातामा जम्मा हुने निक्षेपको अनुपात घटेको छ । बैंकहरुले यस्तो खातामा हुने निक्षेपको ब्याज घटाउँदै जाँदा निक्षेपको अंशसमेत घट्दै गएको हो ।
२०८१ साउनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.६६ प्रतिशत, विकास बैंकहरुको ६.४६ प्रतिशत र वित्त कम्पनीहरुको ७.७१ प्रतिशत रहेको छ । २०८० साउनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८ प्रतिशत, विकास बैंकको ९.२८ प्रतिशत र वित्त कम्पनीको १०.१३ प्रतिशत कायम भएको थियो ।
यसरी ब्याजदर घट्दै जाँदा मुद्दति खाताको निक्षेप घटिरहेको बैंकरहरू बताउँछन् । अहिले मुद्दति खाताको निक्षेप झिकेर सेयर बजारमा लगानी गर्ने क्रम बढिरहेको छ । अन्य लगानीका लागि अवसर सिर्जना नभइसकेको भन्दै सेयरमा आकर्षण बढिरहेको बेला बैंक तथा वित्तीय संस्थाको मुद्दति खाताको निक्षेप घट्दै गएको हो । यसरी मुद्दति निक्षेप धेरै समयसम्म घटिरहेमा समस्या सिर्जना हुने भए पनि अहिले मुलुकको अवस्थाका कारण समस्या नै आउँछ भन्न नसकिने जानकारहरू बताउँछन् । अर्थात् अहिले लगानीका लागि उपयुक्त अवसर नभइरहेको सन्दर्भमा मुद्दति खाताबाट रकम झिकेर समस्या नहुने उनीहरूको भनाइ छ । ‘आगामी दिनमा लगानीको वातावरण बन्दै जाँदा बैंकमा तरलताको अवस्था धेरै नहुने र ब्याजदर फेरि बढ्ने भएका कारण पनि अहिलेको अवस्थामा यही नै हुन्छ भनेर चिन्ता गर्नुपर्ने छैन,’ एक बैंकरले भने ।



