गत शुक्रबार र शनिबारको अबिरल वर्षापछिको त्रासदीपूर्ण बाढी पहिरोका कारण १ हजार मेगावाट विद्युत उत्पादन घटेको छ भने विद्युत् उत्पादनको चरणमा पुगेका थप १ हजार मेगावाट क्षमताका आयोजनाको निर्माणसमेत प्रभावित भएको छ ।
शुक्रबारसम्म दैनिक २८०० मेगावाटभन्दा धेरै विद्युत उत्पादन हुँदै आइरहेकोमा अहिले केबल १८ सय मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ, जुन कूल उत्पादनको तुलनामा ३५ प्रतिशतले कमी हो । विद्युत् कम भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार बाढी र पहिरोले देशका कतिपय स्थानमा विद्युत् उत्पादन केन्द्र र प्रसारणलाइनहरूमा गम्भिर क्षति पुर्याएकोले विद्युत उत्पादन र वितरणको प्रकृयामै समस्या सृजना भएको छ ।
उत्पादन घटेपछि भारतमा निर्यात गरिदै आएको विद्युतमा समेत कटौती गरिएको छ भने जलविद्युत आयोजनाहरुको पुनःनिर्माणमा ढिलाई भए यस वर्षको हिँउदमा लोडसेढिङ हुन सक्ने खतरा रहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।
उनीहरुका अनुसार मङ्सिरसम्मको समय नेपालमा बिना अवरोध विद्युत् उत्पादन हुने समय मानिन्छ । किनकी वर्षातको कारण खोलानालामा प्रशस्त पानी हुने भएकोले हरेक आयोजनाहरुले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्छन् । तर अहिले मनसुन सकिन लाग्दा आएको बाढीका कारण झण्डै २ दर्जन जलविद्युत् आयोजना र प्रसारणलाइनमा क्षति पुगेकाले त्यसको असर कम विद्युत् उत्पादन हुने हिउँदयाममा पर्नेछ ।



