काठमाडौं । असोज ११ र १२ गतेको बाढीपहिरोका कारण काठमाडौं उपत्यका प्रवेश गर्ने सडक अवरुद्ध भएपछि संघीय राजधानीको बजारमा तरकारी तथा खाद्यान्नको भाउ आकाशिएको छ ।
देशकै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा पछिल्लो ४ दिनमा तरकारीको मूल्य २४३ प्रतिशतसम्म बढेको पाइएको छ । असोज ११ गते शुक्रवार ३०.६७ रुपैयाँ औसत थोक मूल्य रहेको गोलभेडाको मूल्य असोज १४ गते करीब ११२ प्रतिशतले बढेर ६५ रुपैयाँ पुगेको छ ।
लाम्चो भण्टाको मूल्य २४३ प्रतिशतले बढेर २७ रुपैयाँ ६७ पैसा प्रतिकिलोबाट ९५ रुपैयाँ पुगेको छ । यसबीचमा लौकाको मूल्य ३५ रुपैयाँबाट ९५ रुपैयाँ पुगेको छ । तिते करेला र इस्कुसको मूल्य पनि शतप्रतिशत बढेको छ । काँक्रो र बन्दाको मूल्य क्रमश: १७५ र १४२ प्रतिशत बढेको छ । हाल थुप्रै ठाउँमा सडक अवरुद्ध भएको र दशैं पनि नजिक आइरहेकाले चाडपर्वमा खाद्यान्न तथा गैरखाद्यान्न वस्तुको भाउ उच्च रहन सक्ने देखिएको सरोकारवाला बताउँछन् ।



