काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले बाढीपहिरोबाट प्रभावितहरूको अस्थाई आवास निर्माण, उपचार, राहत प्याकेज उपलब्ध गराउने, क्षतिको नोक्सानी मूल्याङ्कन गर्न 'टास्क फोर्स' गठन गर्ने लगायतका निर्णयहरू गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार बसेको समितिको बैठकले घर गुमाएकाहरूलाई १० दिन भित्र अनुदानको पहिलो किस्ता उपलब्ध गराउने निर्णय गरेको छ । बैठकमा सात दिन भित्र लाभग्राही पहिचान गर्ने र त्यसको ३ दिन भित्र अनुदान रकमको पहिलो किस्ता उपलब्ध गराउने निर्णय भएको हो। उक्त निर्णय जिल्लास्थित विपद् व्यवस्थापन समितिबाट अस्थायी आवास अनुदान रकम दिने व्यवस्था मिलाइने छ ।
अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड २०८१ अनुसार पहिलो किस्ता पहिलो किस्तामा २५ हजार रुपैयाँ दिइनेछ । बैठकले मनसुनजन्य विपदका कारण ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै खोजी उद्धार र राहतको कामलाई तीव्रता दिने निर्णय पनि गरेको छ।
त्यस्तै बैठकले अवरूद्ध सडक मर्मत गरी सञ्चालनमा ल्याउने, राजमार्गमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका यात्रुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न निर्णय गरेको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यथाशीघ्र सडकहरू सञ्चालनमा ल्याउने व्यवस्था गर्ने उल्लेख छ ।



