काठमाडौं । बैंक, वित्तीय संस्थाहरूले ब्याजदर घटाउँदै लगेपछि कुल निक्षेपमा मुद्दतीको अंश घट्दै गएको छ । तरलताको अवस्था सहज भएसँगै बैंकहरूले ब्याजदर घटाउँदै मुद्दतीको तुलनामा साधारण निक्षेपमा जोड दिएका हुन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को साउनसम्ममा बैंक, वित्तीय संस्थाहरूले ६४ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा मुद्दतीको अंश ५७ दशमलव ५ प्रतिशत रहेको छ । गत आवको साउनमा भने बैंकहरूसँग यस्तो निक्षेप ६१ दशमलव ३ प्रतिशत थियो ।
मुद्दतीको अंश घट्दै गएपछि अन्य प्रकृतिका बचतको अंश भने बढ्न थालेको छ । गतवर्ष साउनमा बैंकहरूको कुल निक्षेपमा २६ दशमलव ७ प्रतिशत मात्र साधारण बचत रहेकोमा चालू आवमा बढेर ३० दशमलव ३ प्रतिशत पुगेको छ ।
तरलता अभावका कारण निक्षेप बढाउन बैंकहरूले अघिल्लो वर्ष मुद्दती निक्षेपमा जोड दिएका थिए । त्यसकारण बढ्दै गएको मुद्दती निक्षेपको अंश गत आवदेखि निक्षेपको ब्याजदर घटेसँगै घट्न थालेको हो । तरलता सहज हुन थालेपछि नेपाल बैंकर्स संघले गत आवको साउनदेखि निक्षेपको ब्याजदर निर्धारणमा भद्र सहमति अन्त्य गर्दै आफूखुशी ब्याजदर तोक्ने निर्णय गरेको थियो । त्यसपछि घट्ने क्रममा देखिएको निक्षेपको ब्याजदर चालू आवको साउनमा आइपुग्दा ५ प्रतिशतको हाराहारीमा झरेको छ ।



