काठमाडौँ, असोज १४ गते । लगातार भएको वर्षका कारण आएको बाढी पहिरोले देशभर ऊर्जा तथा सिँचाइ क्षेत्रमा करिब चार अर्ब ३५ करोड रुपियाँ बराबरको क्षति भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ऊर्जातर्फ तीन अर्ब र सिँचाइतर्फ एक अर्ब ३५ करोडको क्षतिको विवरण प्राप्त भएको र विवरण अझै सङ्कलन भइरहेका सिँचाइमन्त्री दीपक खड्काले जानकारी दिनुभयो ।
मन्त्री खड्काले कुल ६२५ मेगावाट जडित क्षमताका ११ वटा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा क्षति भएको जानकारी दिनुभयो । त्यस्तै आपत्कालीन अवस्थाका कारण आयोजना बन्द गर्नुपर्दा करिब ११ सय मेगावाट विद्युत् उत्पादन बन्द गर्नुपरेको उहाँले जानकारी दिनुभयो । निर्माणाधीन एक हजार १० मेगावाट १५ वटा विद्युत् आयोजनामा पनि क्षति पुगेको उहाँको भनाइ छ ।



