काठमाडौं । गत बिहीबारदेखि लगातार रूपमा परेको वर्षाका कारण निजी क्षेत्रका २० जलविद्युत् आयोजनाका साथै आधा दर्जनभन्दा बढी सरकारी आयोजना प्रभावित भएका छन् ।
बाढी पहिरोको असर जलविद्युत् आयोजनामा परेसँगै हाइड्रो समूहको सेयर बजारमा पनि पहिरो गएको छ । ३ हजार १७ मा रहेको हाइड्रोको इन्डेक्स आइतबार घटेर २ हजार ९ सय ५७ मा झरेको छ ।
यस समूहमा ७१ अंकको पहिरो जाँदा २ दशमलव ३६ अंकले क्षति पुगेको छ । आइतबार ८२ वटा हाइड्रोको मूल्य घटेर राताम्मे भएका छन् ।
क्षतिका बीच हाइड्रो समूहको सेयरमा पहिरो
अविरल वर्षाले जलविद्युत् आयोजनाका साथै प्रसारण लाइनमा पनि क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको गोदक दमक खन्डको ५१ र ५२ न टावरमा पूर्ण क्षति पुगेको छ । यसैगरी, ५० र ५३ नं. टावरमा आंशिक क्षति भएको छ । यसले गर्दा काबेली कोरिडोरमा जोडिने १ सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडबाट बाहिरिएको छ ।



