विराटनगर । नेपालले बंगलादेशसँग व्यापार घाटा बेहोर्न थालेको एक दशक भयो । बंगलादेशसँग नेपालको व्यापार बचतमा भइरहेकोमा आर्थिक वर्ष २०७१/७२ देखि व्यापार घाटा हुन थालेको हो । त्यसपछि अवस्थामा सुधार आएको छैन । गत आर्थिक वर्ष २०८०/८१ मा देशले ३ अर्ब १३ करोड ५२ लाख ५६ हजार रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको सरकारी आँकडा छ । नेपालबाट ४६ करोड ३१ लाख ८९ हजार निकासी भएको छ भने त्यही समयमा बंगलादेशबाट ३ अर्ब ५९ करोड ८४ लाख ४५ हजार मूल्य बराबरको सामान आयात भएको छ । बंगलादेशसँगको व्यापार घाटालाई सन्तुलित बनाइरहेको मसुरो दालको निकासी ठप्प भएपछि व्यापार घाटा बढ्दै गएको हो ।
‘दश वर्षदेखि नेपाल–बंगलादेश व्यापारमा नेपालले व्यापार घाटा बेहोरिरहेको छ,’ मेची भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले भने, ‘विद्युतीय सामग्रीदेखि खाना पकाउने प्रेसर कुकरसमेत बंगलादेशबाट आयात भइरहेको छ ।’ नेपालबाट जाने कृषि उत्पादन र औद्योगिक उत्पादनको निर्यात घटेकाले व्यापार घाटा बढेको तथ्यांकले देखाएको छ । यद्यपि केही वर्षयता भने बंगलादेशसँग व्यापार घाटा घट्दै गएको छ ।



