अविरल वर्षाले देशभर बाढी, डुबान, र पहिरोको त्रास : सतर्क रहन आग्रह


  • Himalayan Bank Limited (HBL)
अविरल वर्षाले देशभर बाढी, डुबान, र पहिरोको त्रास : सतर्क रहन आग्रह

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरूमा अविरल वर्षाको कारणले बाढी, डुबान, पैह्रो, र सडक दुर्घटनाका घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन्। विभिन्न क्षेत्रहरूमा पानीको सतह बढ्दा डुबानका समस्या उत्पन्न भएका छन् भने, पहाडी भूभागमा लगातारको वर्षाले धेरै स्थानहरूमा  पहिरो खसेको छ। यी प्राकृतिक विपत्तिहरूले जनजीवनमा गम्भीर असर पुर्याइरहेको छ।

काठमाडौं उपत्यकामा ठूला नदीनालाहरूमा पानीको सतह बढ्दै गएकोले डुबानको खतरा अझ बढेको छ। यसैगरी, अन्य पहाडी तथा तराई क्षेत्रहरूमा पनि भारी वर्षाका कारण जनधनको क्षति हुने खतरामा वृद्धि भएको छ। पहाडी क्षेत्रमा धेरै स्थानमा पैह्रो खस्दा यातायात अवरुद्ध भएको छ भने, कतिपय क्षेत्रमा आवतजावत ठप्प भएको छ।

यस चुनौतीपूर्ण अवस्थामा स्थानीय प्रशासनले सर्वसाधारणलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको छ। यदि निस्किनै पर्ने स्थिति आयो भने, उच्च सर्तकता अपनाउन सुझाव दिइएको छ। सडकहरूमा बाढीका कारण दुर्घटनाहरू हुनसक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

साथै, बाढी, डुबान र पैह्रोबाट हुने जीउधनको क्षति न्यूनीकरण गर्नका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूलाई उद्दार कार्यमा तयारी अवस्थामा राखिएको छ। जनतालाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ भने, जोखिमपूर्ण स्थानमा रहेका व्यक्तिहरूलाई तत्काल सुरक्षित स्थानमा सार्न समेत निर्देशन दिइएको छ।

मानवीय सहायता तथा स्वयंसेवकहरूलाई पनि उद्दार कार्यमा सहभागी हुन र प्रभावित स्थानहरूमा तत्काल सहयोग पुर्याउन अनुरोध गरिएको छ। साथै, उद्दार तथा राहत कार्यलाई सहज बनाउन सम्बन्धित निकायहरूले पनि स्थानीय तहमा समन्वय गरिरहेका छन्।

विपद् व्यवस्थापनसम्बन्धी सरकारी निकायहरूले जनतालाई आवश्यक सावधानी अपनाउन, सम्भावित जोखिमका क्षेत्रमा विशेष सतर्कता अपनाउन र सूचना प्रवाहमा सतर्क रहन आग्रह गरेका छन्।विपद् 

व्यवस्थापनमा सक्रिय काठमाडौँ महानगर: मेयर बालेन शाहद्वारा १७ टोली परिचालन

काठमाडौँ महानगरका मेयर बालेन शाहले निरन्तर वर्षाले सिर्जना गरेको विपद् व्यवस्थापनका लागि नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको जानकारी आफ्नो फेसबुक मार्फत दिएका छन्। उनले प्रत्येक नागरिकले विपद् परिस्थितिमा आफू र परिवारको सुरक्षा सुनिश्चित गर्नुका साथै संकटमा परेकाहरूलाई सहयोग गर्नु पर्ने जिम्मेवारी भएको पनि स्मरण गराएका छन्।

जलजन्य विपद् जस्तै डुबान, कटान, बाढी वा पहिरोको जोखिम देखिएमा तुरुन्तै काठमाडौँ महानगरपालिकाको हटलाइन १६६००१०५५११ वा ११८० मा तथा महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न आग्रह गरिएको छ। साथै, आपतकालीन अवस्थामा अस्पताल जान निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न १०२ मा फोन गर्न सकिने पनि जनाइएको छ। उनले सतर्क रहन र विपद् सामना गर्न पूर्व तयारी गर्न सबैलाई आह्वान गरेका छन्।