सिन्धुली । अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीका कारण सुनकोशी गाउँपालिका वडा नं. १ दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिरमा रहेको आदि लिंगेश्वर कुशेश्वर गुरुकुलका बटुकहरु, शिक्षकहरु, कर्मचारी र पुजारी गरि ३३ जना बाढीमा फसेका छन ।
बाढीका कारण गुरुकुलका २६ जना बटुक (विद्यार्थी), ३ जना शिक्षक, २ जना कर्मचारी र २ जना मन्दिरका पुजारी बाढीमा फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । मन्दिरको चारैतिर कोशी र रोशीको बाढीले छेकेपछि उनीहरुलाई सुरक्षित स्थानमा लान सकिएको छैन ।
मन्दिर परिसरमा फसेका व्यक्तिहरुको उद्धारका लागि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम दिनभर खटिएको छ । विपद व्यवस्थापन र सुरक्षाको तालिम प्राप्त टिम उद्धारमा खटिए पनि बाढीमा फसेकाहरुको उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताएका छन । ...



