काठमाडौं : सरकारले उखु र दुध किसानको बक्यौता रकम भुक्तानीको प्रकृया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रकम भुक्तानीको लागि गरेको पहल अनुसार शुक्रवार अर्थ मन्त्रालयले उखुको लागि १ अर्व ४५ करोड ३२ लाख रुपैयाँ र दुधको रकम भुक्तानी लगायतका लागि ६० करोड रुपैयाँ निकासा गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्रालयको पहलमा मन्त्रीपरिषदको वैठकले दुध किसानको रकम भुक्तानीका लागि दुग्ध विकास संस्थान (डीडीसी) लाई उक्त रकम ऋण दिने निर्णय गरेको थियो । मन्त्रालयका अनुसार ८ जिल्लाका उखु किसानले गत वर्षको रकम भुक्तानीका लागि जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत किसानकै बैक खातामा रकम जाने व्यवस्था गरिएको छ ।



