काठमाडौं । सरकारले अघिल्ला आर्थिक वर्षमा निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकेको रकम चालू आर्थिक वर्षमा दिने प्राथमिकताका साथ घोषणा गरे पनि हालसम्म एक चौथाइ मात्र भुक्तानी भएको निर्माण व्यवसायीले बताएका छन् ।
सरकार बाँकी दायित्व भुक्तानीमा गम्भीर नभएको भन्दै उनीहरूले तुरुन्त दायित्व भुक्तानीको स्पष्ट योजना माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले काम सम्पन्न भएर बिल पेश गरेको रकम नपाए पुन: आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।
सरकारले लक्ष्यअनुसार राजस्व असुली गर्न नसकेपछि निर्माण व्यवसायीको भुक्तानी रोकिएको हो । यसले विकास निर्माणका काम प्रभावित भएको छ । सरकार र निजीक्षेत्र दुवै तर्फबाट निर्माण कार्य हुन नसक्दा गत आर्थिक वर्षमा निर्माण क्षेत्रको वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ ।


