बैंकहरुको घर कर्जा दिन प्रतिस्पर्धा चल्न थालेको छ। बैंकहरुले अहिले नयाँ कर्जा लिने ग्राहकको लागि ८ प्रतिशतभन्दा पनि कम ब्याजदरमा कर्जा अफर गर्न थालेका छन्।
अधिकाँश बैंकहरुले अहिले ग्राहकलाई आधार दरकै हाराहारीमा घर कर्जा लिन बोलाउन थालेका छन्। लगानीयोग्य रकम थुप्रिएको अवस्थामा बैंकहरुले अत्यन्तै न्युन प्रिमियम लिएर कर्जा दिन थालेका हुन्।
केहि दिन अघि मात्रै नविल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा नै घर कर्जा लिन ग्राहकलाई बोलाएको छ। दशै तिहारको उपलक्ष्यमा बैंकले ७ वर्षसम्मको लागि कर्जा सो ब्याजदरमा कर्जा दिने जनाएको छ।
यस्तै अन्य बैंकहरुले पनि अहिले आधार दरमानै घर कर्जा दिइरहेका छन्। अहिले बैंकहरुको औसत आधार दर नै ८ प्रतिशतको हाराहारी झरेको अवस्थामा धेरैजसो बैंकले घर बनाउनको लागि ८ प्रतिशत हाराहारीकै ब्याजदरमा कर्जा दिन थालेका हुन्।
बैंकहरुले प्रिमियम दरलाई निकै घटाएका छन् भने सेवा शुल्क समेत ०.७५ प्रतिशत वा त्यो भन्दा पनि कम लिएर कर्जा दिइरहेका छन्। तर पनि घर कर्जा उल्लेख्य बढेको देखिदैन।


