काठमाडौँ । झन्डै साढे २ महिनायता नेपालमा औपचारिक माध्यमबाट हुने सुनको आयात ठप्प भएको छ । व्यावसायिक कारोबारका लागि सुनको आयात गर्ने जिम्मेवारी पाएका वाणिज्य बैंकहरुले नयाँ आर्थिक वर्षदेखि सुनको आयात गरेका छैनन् ।
व्यवसायीले माग नै नगरेपछि बैंकहरुले पनि सुनका आयात नगरेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माको भनाइ छ ।
वाणिज्य बैंकले सुन आयात गर्न छोड्दा देशमा आयात हुने सुनको मात्रा झन्डै ८० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा जम्मा एक सय किलोग्राम मात्र सुनको आयात भएको छ । यो दैनिक औसत १.६७ किलोग्राम हो । यो आयात विदेश जाने नेपालीले व्यक्तिगत रूपमा ल्याएको परिमाण हो । अघिल्लो वर्षको दुई महिनाको अवधिमा नेपालमा ५११ किलोग्राम सुनको आयात भएको थियो । यो दैनिक औसत ८.५२ किलोग्राम बराबर हो ।



