काठमाडौँ l कुमारी बैंकले गोर्कणेश्वर नगरपालिकामा महिला उद्यमी प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। युएसएआईडीको साझेदारीमा “देशैभरि, वर्षैभरि” उद्यमशीलता विकास तथा प्रवर्द्धनका लागि संचालन गरिरहेको यो अभियानले काठमाण्डौंको उत्तरपूर्वमा रहेको गोर्कणेश्वर नगरपालिकाका महिला उद्यमीहरूलाई लक्षित गरेको थियो।
उद्यमशीलता प्रवर्द्धन र विकासका लागि वित्तीय ज्ञान, सीप, मनोबल वृद्धि, र व्यवहारिक परिवर्तन आवश्यक हुन्छ भन्ने विश्वास राख्दै, कुमारी बैंकले यस अभियानमार्फत विषयवस्तुमा आधारित संवेदनशीलतालाई सरल रूपमा बुझ्न सकिने वित्तीय उद्यमी प्रशिक्षण प्रदान गरेको छ। यससँगै, बैंकले वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरका कलाकारहरूद्वारा अभिनय गरिएको सन्देशमूलक भिडियोहरू, र सचेतनामूलक सामग्रीहरू पनि नियमित रूपमा प्रकाशन र प्रशारण गर्दै आएको छ।
यो प्रशिक्षणले स्थानीय निकायहरूमा रहेका उद्यमी सोचलाई प्रोत्साहित गर्दै आर्थिक समृद्धि हासिल गर्न मद्दत गर्ने विश्वास बैंकले लिएको छ।
२३ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंकले ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्स्टेन्सन काउन्टर, र ५७ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गरिरहेको छ। आगामी दिनमा अझ सरल, सुलभ, र उत्कृष्ट सेवाका लागि बैंकले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएको छ।





