नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एसियाली व्यापार प्रवर्द्धन फोरम (एटीपीएफ) मा साना तथा मझौला उद्यम (एसएमई) हरूमा लगानी बढाउन र क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न आह्वान गर्नुभएको छ। थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले एसएमईहरू जस्ता उद्योगहरू नेपालजस्ता विकासोन्मुख मुलुकहरूको अर्थतन्त्रको मेरुदण्ड रहेको बताउनुभयो।
अध्यक्ष ढकालले एसएमईहरूले नेपालमा जिडिपीको २२ प्रतिशत योगदान गरेको उल्लेख गर्दै, सो क्षेत्रको विकास र प्रवर्द्धनका लागि अन्तरक्षेत्रीय साझेदारीको महत्त्वलाई जोड दिनुभयो। क्रियटिभ इकोनोमीलाई एसएमईसँग ठोस रूपमा जोडेर लगानीका सम्भावना र बजारहरू विस्तार गर्न सकिने तर्फ उहाँले एसियाली लगानीकर्ताहरूको ध्यानाकर्षण गराउनुभयो।
नेपालको निर्यातमा परम्परागत हस्तकलाहरू जस्तै हातले बुनेका गलैँचा, थाङ्का, चित्रकला, र सांस्कृतिक वाद्ययन्त्रहरूको ठूलो योगदान रहेकोले, सांस्कृतिक उद्योगहरूमा लगानी गरेर समावेशी समृद्धि हासिल गर्न सकिने अध्यक्ष ढकालको भनाइ थियो। साथै, बढ्दो पर्यटन बजारसँग साना तथा मझौला उद्यमहरूको प्रवर्द्धन गरी, होटल, थिम पार्क, केबलकार जस्ता पर्यटन पूर्वाधारहरूमा लगानी गर्ने अवसरहरूमा पनि लगानीकर्ताहरूलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो।
अध्यक्ष ढकालले नेपालमा जलविद्युत् क्षेत्रमा पनि लगानीका लागि उपयुक्त अवसरहरू रहेको बताउनुभयो। भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने योजना रहेको र बंगलादेशमा पनि थप बजार पाएकोले जलविद्युतमा लगानी गर्न लाभदायक हुने उहाँको भनाइ थियो।
नेपालमा व्यवसाय गर्न सहज बनाउन विभिन्न कानुनी सुधारहरू गरिएका र द्विपक्षीय लगानी सम्झौता फ्रेमवर्क पारित भएकाले लगानीकर्ताहरूका लागि अनुकूल वातावरण सृजना भएको ढकालले बताउनुभयो। साथै, नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताहरूलाई सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ सधैं तयार रहेको र हेल्प डेस्क मार्फत आवश्यक जानकारी उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो।



