विराटनगर । झापाको कमल गाउँपालिका २ मा रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको करोडौँ रकम सञ्चालक समितिका पदाधिकारीहरूले आफ्नै कम्पनीमा लगेको पाइएको छ । उक्त सहकारी झापामै ठुलो सहकारीको रूपमा परिचित छ । सहकारीका पूर्व पदाधिकारीहरू र व्यवस्थापकहरूले आफ्ना कम्पनीमा गरेको १८ करोडभन्दा बढी कर्जा लगानी उठ्न सकेको छैन ।
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको टोलीले गरेको अनुगमन प्रतिवेदन अनुसार उक्त सहकारीका संस्थापक अध्यक्ष गणेश ढकाललगायत अन्य व्यक्तिहरू मिलेर खोलेको कटेरो नेपाल प्रा.लि नामको कम्पनीका सञ्चालकलाई एकै समयमा १८ करोडभन्दा बढी ऋण प्रवाह गरेको पाइएको छ । सहकारीले कुनै पनि कम्पनीमा ऋण प्रवाह गर्न नपाउने कानुनी व्यवस्था छ ।



