काठमाडौं : एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले दुई महिनापछि सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ। संविधान संशोधन, गतिशील अर्थतन्त्र र युवा साझेदारीलाई प्राथमिकता दिएको छ। यस्तै, विकास, राजनीतिक स्थायित्व, सुशासन र आर्थिक समृद्धि लगायतका जनचाहनालाई सम्बोधन गर्ने संकल्प गरिएको छ। ८ बुँदे संकल्प र नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई बुधबारको मन्त्रिपरिषद् बैठकले निर्देशन पनि दिएको छ।
०८१ असार १७ गते कांग्रेस र एमालेबीच संयुक्त सरकार निर्माणका लागि ७ बुँदे सहमति भयो। त्यसकै आधारमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने। दुई ठूला दलको संयुक्त सरकारले भ्रष्टाचारका चर्तित सबै काण्डको छानबिन गर्ने जनाएको छ। कांग्रेस र एमालेबीचको ७ बुँदे सहमतिअनुसार साझा संकल्प तथा नीतिगत प्रतिबद्धता तयार गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। साझा संकल्प तयारमा ज्ञवालीसहित एमालेकै अर्का उपमहासचिव विष्णु रिमाल र कांग्रेस महामन्त्री गगन थापा र प्रवक्ता डा.प्रकाशशरण महतको कार्यदल बनाइएको थियो। कार्यदलले साझा संकल्प तयार गरी प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेको थियो। त्यसपछि देउवा र ओलीले हस्तान्तरण गरेको ८ बुँदे साझा संकल्प तथा नीति तथा कार्यक्रमलाई सबै मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय बुधवारको मन्त्रिपरिषद् बैठकले गरेको छ।



